“कस्ले भन्छ क्रान्ति सफल हुँदैन भनेर”: बेलकोटगढीमा गुञ्जिए माइला लामा



नुवाकोट,जेठ ९ – चर्चित जनयुद्धकालीन क्रान्तिकारी कलाकार माइला लामाले शुक्रबार नुवाकोटको बेलकोटमा “कस्ले भन्छ क्रान्ति सफल हुँदैन भनेर” बोलको गीत गाएर उपस्थितहरूलाई उत्साहित बनाए।

उनी तार्केश्वर गाउँपालिका–७, पिमलटारस्थित श्री पिमलटार माध्यमिक विद्यालयमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बाटोमा भेटिएका केही युवा साथीहरूसँगै स्वर मिलाएका थिए। लामा त्यसबेला भावुक बनेर भने, “क्रान्तिको आगो निभेको छैन, हाम्रो स्वरमा अझै बल छ।”

लामाको प्रमुख आतिथ्यतामा श्री पिमलटार माध्यमिक विद्यालयको आयोजनामा स्व. नन्द कुमारी अधिकारीको स्मृतिमा फरिन्द्र अधिकारी ‘सी’ द्वारा विद्यालयलाई रु. १ लाख ५ हजार सहयोग प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, समाजसेवी, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

क्रान्तिकारी सांस्कृतिक आन्दोलनका एक अग्रज कलाकार माइला लामा अझै पनि जनपक्षीय गीत–संगीतमार्फत सामाजिक परिवर्तनको पक्षमा सक्रिय देखिन्छन्।

प्रतिक्रिया दिनुहोस्