अब माओवादी केन्द्रले कसैको बैशाखी टेकिदैन : अध्यक्ष प्रचण्ड

पर्वत,जेठ ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा अन्य कुनै पनि राजनीतिक दलको सहारा नलिने बताएका छन् । पर्वतमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको इतिहास दोहोरिन नदिनका लागि माओवादी केन्द्र जनताको आड र भरोसा बाहेक अन्य कुनै पनि राजनीतिक दलको बैशाखी नटेक्ने जिकिर गरेका हुन् ।
‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा शुक्रवार पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अन्य राजनीतिक दल सँगको सहकार्यले धोका पाएको बताउँदै समाजबादी मोर्चा तय गरेर अघि बढ्ने समेत बताए ।
उनले झापाबाट सुरुवात भएको हुलाकी राजमार्ग जनजागरण अभियानको स्मरण गराउँदै तराई मुलका जनता पहाडी क्षेत्रका भन्दा कम राष्ट्रबादी नभएको बताए । उनले पहाडी क्षेत्रका जनताहरुले तराईबासीहरुलाई फरक दृष्टिकोणले हेरेपनि तराईबासी जनताहरु पहाडी क्षेत्रका बासिन्दा भन्दा अझै बढी राष्ट्रप्रति उत्तरदायी भएको बताए ।
पछिल्लो देशकाल घटनाक्रमलाई जोड्दै अध्यक्ष प्रचण्डले दुई ठुला दल मिलेर बनेको सरकारले कुनैपनि जनमुखि काम गर्न नसकेको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले समेत सरकार जनताप्रति उत्तरदायि छैन भन्ने देखाएको उनको भनाई छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोर माओवादीको सपना भएको दाबी गर्दै यी दुई योजना सम्पन्न भए माओवादीको सपना साकार हुने जिकिर गरे । उक्त अभियानमा अध्यक्ष लगायत माओवादी केन्द्रका विभिन्न केन्द्रीय तहमा रहेका नेताहरुको सहभागिता रहेको छ ।