नुवाकोट दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण १८ महिनाभित्रै सम्पन्न हुने

नुवाकोट, जेठ ९ । ऐतिहासिक एवं सांस्कृतिक महत्वका धरोहर नुवाकोट दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण कार्य आगामी १८ महिनाभित्र सम्पन्न हुने भएको छ।
विदुर नगरपालिकाका नगरप्रमुख श्री राजन श्रेष्ठसँग ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’का डेपुटी डाइरेक्टर एमएस लिसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठकपछि उक्त प्रतिबद्धता गरिएको हो। चिनियाँ पक्षले आगामी सन् २०२६ अक्टोबर अर्थात विसं २०८३ असोजसम्ममा पुनर्निर्माण कार्य सम्पन्न गरी सम्पदा हस्तान्तरण गर्ने जनाएको छ।
बैठकमा नगरप्रमुख श्रेष्ठले सम्पदा पुनर्निर्माणका लागि आवश्यक सबै सहयोग तथा सहजीकरण गर्न प्रतिबद्धता व्यक्त गरेपछि चिनियाँ प्रतिनिधिमण्डलले निर्माण कार्य समयमै सम्पन्न गर्ने दृढता व्यक्त गरेको हो।
पुनर्निर्माण कार्य अन्तर्गत तलेजु भवानी मन्दिरमा क्षतिग्रस्त संरचना हटाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ भने साततले दरबारका क्षतिग्रस्त तला हटाउने काम आगामी २० दिनपछि सुरु हुने भएको छ।
उक्त बैठकमा पुरातत्व विभागकी पुरातत्व अधिकृत अमृता महर्जन, नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डे लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।