शिवपुरी गाउँपालिकाद्वारा विद्यालयमा सेनेटरी प्याड नस्ट गर्ने मेसिन जडान

नुवाकोट,जेठ ९ । – जिल्लाको शिवपुरी गाउँपालिकाले पालिका भित्रका विद्यालयहरूमा महिनावारीका बेला प्रयोग हुने सेनेटरी प्याड सुरक्षित रूपमा नस्ट गर्नका लागि विशेष मेसिन जडान गर्ने कार्य सुरु गरेको छ।
गाउँपालिका प्रशासनका अनुसार, विद्यार्थी बालिकाहरूका लागि सुरक्षित, स्वच्छ र वातावरणमैत्री व्यवस्था गराउन यो कदम चालिएको हो। प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालका अनुसार, “महिलाहरूका लागि महिनावारीका बेला प्रयोग गरिने प्याडलाई सुरक्षित तरिकाले नस्ट गर्न यो मेसिन निकै उपयोगी सावित हुने विश्वास लिइएको छ।”
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलियाले भने, “महिला मैत्री पालिका बनाउने उद्देश्यले हामीले यो कार्यक्रमको थालनी गरेका हौं। यस्ता मेसिन पहिलोपटक पालिकामा जडान गरिएको हो, जसले वातावरणमैत्री र स्वच्छता सुनिश्चित गर्छ।”
विद्यार्थीहरूले मेसिन सजिलो र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। एक पटकमा करिब ५० वटा प्याड नस्ट गर्न सकिने क्षमता रहेको मेसिनको प्रयोगको जिम्मेवारी विद्यालयका महिला कर्मचारीलाई दिइएको छ।
पालिकाले खटाएको जडान टोलीले आगामी एक-दुई दिनभित्र बाँकी विद्यालयहरूमा पनि मेसिन जडान कार्य सम्पन्न गर्ने जानकारी गराएको छ।