नुवाकोटको रामेश्वर धामको आर्थिक पारदर्शिता: वार्षिक आयव्यय सार्वजनिक

नुवाकोट,जेठ १० । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६, थान्सिङमा अवस्थित ऐतिहासिक रामेश्वरम धाम (मरणपाटी) संरक्षण तथा सुधार संस्थाले गत वैशाख १६ देखि २४ गतेसम्म सञ्चालन गरेको श्रीमद्रभागवत सप्ताह ज्ञान महायज्ञ को आयव्यय विवरण सार्वजनिक गरेको छ।
महायज्ञ पश्चात् पारदर्शिता ल्याउने उद्देश्यले सार्वजनिक गरिएको विवरण अनुसार, संस्थाको कुल आम्दानी रु. २४ लाख ९० हजार ७ सय ४ रुपैयाँ ३२ पैसा रहेको छ यस्मा उठ्न बाकि रकम ४ लाख ६ सय ५५ रुपैयाँ रहेको छ ।महायज्ञ को कुल खर्च रु. ५ लाख ५० हजार ३ सय ६० रुपैयाँ रहेको छ ।
संस्थाका सचिव सन्तोष अधिकारीका अनुसार, संस्थाको सत्सालको मौज्दात रु. २ लाख ६ हजार ४ सय ३२ रुपैयाँ ५३ पैसा रहेको थियो। यसका साथै, नगद विवरणबाट रु. १८ लाख ६७ हजार २ सय ६२ रुपैयाँ १ पैसा, अन्य आम्दानीबाट रु. १ लाख ६० हजार १ सय ९२ रुपैयाँ ५० पैसा, चामल आम्दानीबाट रु. ४० हजार ४ सय ६२ रुपैयाँ ५० पैसा र तरकारी आम्दानीबाट रु. १६ हजार ३ सय ५४ रुपैयाँ ७८ पैसा आम्दानी भएको छ।
संस्थाको व्यय विवरणमा भने विभिन्न शीर्षकमा खर्च भएको उल्लेख छ। पण्डित खर्चका लागि रु. ८६ हजार, गाडी भाडाका लागि रु. २७ हजार १ सय, साउन्ड सिस्टमका लागि रु. ५२ हजार र कलाकार खर्चका लागि रु. १ लाख ३४ हजार खर्च भएको देखिन्छ। दैनिक सञ्चालन खर्च अन्तर्गत किराना तथा फलफूलमा रु. ३१ हजार ९ सय, पूजा सामाग्रीमा रु. ५५ हजार ४ सय ७५, बत्ती सामान खरिदमा रु. ६५ हजार ६ सय ८५ र स्टेशनरी तथा अन्य सामाग्रीमा रु. ६० हजार २ सय खर्च भएको छ।
यस वर्षको खर्चको उल्लेखनीय पक्ष भवन निर्माणार्थ भण्डारी सप्लायर्सलाई सामान खरिद बापत ३ लाख खर्चिएको छ । यसले धामको पूर्वाधार विकासमा संस्थाले विशेष जोड दिएको छ । खर्च पश्चात संस्थासँग रु. १२ लाख ३९ हजार ६ सय ८९ रुपैयाँ ३२ पैसा मौज्दात रहेको विवरणमा उल्लेख छ।
आयव्यय विवरण सार्वजनिक गर्दै संस्था अध्यक्ष प्रकाश अधिकारीले धामको सञ्चालन र विकासमा भक्तजन तथा दाताहरूको सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनीहरूले आगामी दिनमा समेत यस प्रकारको पारदर्शिता कायम राख्दै धामको संरक्षण र विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्। यो सार्वजनिकरणले धामको वित्तीय व्यवस्थापनमा विश्वास अभिवृद्धि हुने विश्वास लिइएको छ।