राप्रपा शिवपुरी–८ द्वारा लौके झरनामा वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नुवाकोट, जेठ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवपुरी–८ को आयोजनामा नुवाकोटको प्रसिद्ध पर्यटकीय स्थल लौके झरनामा वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको राप्रपाले जनाएको छ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य भरत पाठक, जिल्ला कार्यसमिति सदस्य माधव कडेल, शिवपुरी अध्यक्ष सुदर्शन बुढाथोकी, उपाध्यक्ष यादव भण्डारी, काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष श्रीराम ढुंगाना, क्षेत्र नं. १ ‘क’ का उपाध्यक्ष राजकुमार पाण्डे, क्षेत्रीय कार्यसमिति सदस्यहरू श्याम तामाङ र जनकराज पाण्डे, साथै वडा नं. ८ का अध्यक्ष रामचन्द्र उप्रेती लगायतका नेताहरुको उपस्थिति थियो।
स्थानीयबासी तथा राप्रपाप्रति आस्था राख्ने समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अन्य पार्टी परित्याग गरी शिवपुरी–८ का ५ जना स्थानीयले राप्रपाको सदस्यता ग्रहण गरेका छन्। उनीहरूलाई केन्द्रिय सदस्य भरत पाठकले पार्टी प्रवेश गराएका थिए।
सो अवसरमा शिवपुरी–८ का स्थानीयका लागि विरामी बोक्ने स्टेचर समेत हस्तान्तरण गरिएको आयोजकले जानकारी दिएको छ।