नुवाकोटमा विद्युतीय गाडी दुर्घटना, ९ जना घाइते

नुवाकोट, जेठ ११ – नुवाकोटको शिवपुरी गाउँपालिका–७ गुरुङगाउँस्थित टोखा–छहरे सडकखण्डमा आइतबार दिउँसो भएको एक विद्युतीय(EV) गाडी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन्। त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ ज ०८५४ नम्बरको विद्युतीय(EV) गाडी अपराह्न ३:५० बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका यात्रुहरूलाई उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको छ। घाइतेमध्ये लिखु गाउँपालिका–४, नुवाकोटकी ३९ वर्षीया मैना राईको टाउकोमा चोट लागेको छ र अवस्था मध्यम छ। काठमाडौं महाराजगञ्ज निवासी ४६ वर्षीया लक्ष्मी खड्कालाई टाउको र ढाडमा चोट लागेको छ भने गोँगबु निवासी ३५ वर्षीया श्रीजना लामालाई हातमा सामान्य चोट लागेको छ। बिदुर नगरपालिका–५ माझिटार, नुवाकोटकी १८ वर्षीया बिपना अर्याल, तलाखु, नुवाकोट निवासी २८ वर्षीय रसमान लामा र १८ वर्षीय विजय लामालाई सामान्य चोट लागेको छ। काठमाडौंको कलंकी निवासी ३९ वर्षीया सरस्वती राईको ढाडमा चोट लागेको छ भने त्यही स्थानका ३८ वर्षीय श्याम दगौरालाई सामान्य चोट लागेको छ। उत्तरगया गाउँपालिका–५, रसुवाका २५ वर्षीय महेन्द्र श्रेष्ठ पनि सामान्य घाइते भएका छन्।
घटनास्थलमा खटिएको गुर्जेभञ्ज्याङ अस्थायी प्रहरी पोस्टको टोलीले गाडी चालक ३६ वर्षीय रवि बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।