न्यूनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशकै पहिलो



भरतपुर,जेठ ११ । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर देशकै पहिलो अस्पताल बनेको छ ।

सङ्घीय अस्पतालहरूमा भरतपुरले अरू अस्पतालहरूलाई उछिन्दै प्रथम भएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्क सहित भरतपुर अस्पताल देशकै पहिलो अस्पताल बनेको मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा. फणीन्द्र बरालले जानकारी दिए ।

मन्त्रालयले देशभरीका १५ वटा सङ्घीय अस्पतालमा यो अनुगमन गरेको थियो । मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा. बरालले उत्कृष्ट अङ्क सहित भरतपुर अस्पतालले ‘ग्रिन जोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए । ‘ग्रिन जोन’ स्टिकर ८५ प्रतिशत भन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ । ‘ग्रिन जोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उनले जनाए ।

अस्पतालले दिने सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा र फोहोर मैला लगायतका वस्तुहरूको व्यवस्थापनमा अन्तर्गत पर्ने सहयोगी सेवाको मूल्याङ्कनका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो हरेक वर्ष मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो । भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले निरन्तर र सकारात्मक प्रयत्नले मात्रै नतिजा राम्रो आएको प्रतिक्रिया दिए ।

“अस्पतालको सेवा सुविधा सुधारकालागि हामीले काम गरी रहेका छौँ अहिले त्यै नतिजा देखिएको हो”, उनले भने । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले गुणस्तरीय सेवामा आफूहरू निरन्तर लागिरहेको बताए । “अस्पतालको सिङ्गो टिम नै सेवा सुधारमा लागि रहेको छ । जसको परिणाम राम्रो आयो“, उनले भने । देशकै संघिय अस्पताल मध्येको एक भरतपुर अस्पताल देशकै मध्य भाग भरतपुरमा रहेको छ । यो अस्पतालले विभिन्न विशिष्टीकृत सेवा दिँदै आएको छ ।

मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष जसो आफूलाई स्तर वृद्धि गराउँदै आएको छ । मन्त्रालयका अनुसार २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्