गल्छी–रसुवागढी सडक विस्तारबाट क्षति पुगेको बाटोमा नयाँ सिँढी निर्माण, नगरप्रमुखको अवलोकन



नुवाकोट,जेठ १२ — राष्ट्रिय गौरवका योजनामा सूचीकृत ‘गल्छी–रसुवागढी सडक योजना’अन्तर्गत विदुर नगरपालिका–२ मा सडक विस्तारको क्रममा भिमसेन माध्यमिक विद्यालय तथा आसपासको बस्ती र सामुदायिक पहुँच मार्गमा क्षति पुगेपछि विकल्प स्वरूप नयाँ सिँढी निर्माण गरिएको छ।

विदुर नगरपालिकाको समन्वयमा सडक योजना कार्यालयमार्फत निर्माण गरिएको उक्त सिँढीको अवलोकन नगरप्रमुख राजन श्रेष्ठ तथा वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपानेले आइतबार सम्पन्न गरेका हुन् । अवलोकनको क्रममा प्रमुख श्रेष्ठले सडक विस्तारका क्रममा देखिएका समस्याहरू समाधान गर्दै स्थानीय सुविधामा असर नपर्ने गरी विकास निर्माण अघि बढाउने प्रतिबद्धता जनाए ।

सडकको स्तरउन्नति तथा विस्तारसँगै देखा परेका अन्य समस्याहरू समाधान गर्न नगरपालिकाको निरन्तर पहल तथा समन्वयमार्फत योजना कार्यान्वयनमा सघाउ पुर्‍याउँदै आएको उल्लेख गर्दै नगरप्रमुख श्रेष्ठले स्थानीय समुदायको सहयोग र चासोप्रति पनि आभार व्यक्त गरेका थिए ।

उक्त सडक योजना गल्छीबाट रसुवागढी जोड्ने प्रमुख व्यापारिक मार्गका रूपमा रहेको र भौगोलिक दृष्टिले संवेदनशील क्षेत्र हुँदै जाने हुँदा निर्माणको हरेक पाटामा सघन समन्वय र सतर्कता आवश्यक हुने सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्