नुवाकोटको शिवपुरीमा कृषकलाई अनुदानमा कृषि औजार वितरण

• भरतसन्तोषी लामा
नुवाकोट, जेठ १२ — कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा कृषकहरूलाई अनुदानमा विविध कृषि औजार वितरण गरिएको छ। जागरुक कृषि सहकारी संस्था, थानपतिमा आयोजित कार्यक्रममा जिल्लाको कृषि विकास कार्यालय नुवाकोट र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत धान जोनबाट प्राप्त मेसिनरी सामग्रीहरू ५० प्रतिशत अनुदानमा वितरण गरिएका हुन्।
वितरित सामग्रीमा ३० वटा मिनि टिलर, ६ वटा कम्बाईन मिल, २३ वटा स्प्रेयर, ५०० मिटर सिंचाइ पाइपसहित बीउ, बिषादी लगायतका कृषि सामग्रीहरू रहेका छन्।
कार्यक्रमको अध्यक्षता जागरुक कृषि सहकारीका अध्यक्ष रामप्रसाद पुडासैनीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनाल सहभागी थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सहकारी सञ्चालक समिति सदस्य बिमल पाण्डेसहित अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि खनालले जागरुक कृषि सहकारीले लामो समयदेखि कृषकको हितमा उल्लेखनीय कार्य गर्दै आएको बताउँदै यो सहकारीको हरेक काम नमूना योग्य रहेको प्रतिक्रिया दिएका थिए।
सञ्चालक समिति सदस्य बिमल पाण्डेले नुवाकोटको पञ्चकन्या, लिखु र शिवपुरीका कृषकहरूलाई लक्षित गरी सामग्री वितरण गरिएको जानकारी गराए। उनले यान्त्रिक सामग्रीको उचित प्रयोग र समयमै सर्भिसिङ गरेमा ती उपकरणहरू लामो समय टिकाउ हुने बताएका छन्।
पाण्डेले आधुनिक उपकरणको उपयोगले महिलाहरूका लागि समेत खेत जोत्न सजिलो भएको र हाते ट्र्याक्टरजस्ता औजारले हिउँदे तथा बर्खे दुबै मौसममा खेती गर्न सहज हुने बताएका छन्। उनले भने, “गोरु पाल्ने चलन हराउँदै गएको छ, हलो जुवा बनाउने सीपसमेत लोप हुन थालेको छ, यस्तो अवस्थामा यान्त्रिक औजार उपयोगी बनेका छन्।”
यस प्रकारको यान्त्रिकरणले स्थानीय कृषकहरूको श्रम, समय र खर्च बचत हुनुका साथै उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।