नुवाकोटको शिवपुरी –६ अर्खौले हुँदै पर्यटकीय पदमार्ग निर्माण

नुवाकोट,जेठ १२ । शिवपुरी गाउँपालिका–६ अर्खौले-पाटी स्वारा हुँदै गुर्जे भञ्ज्याङसम्म जाने नयाँ पर्यटकीय पदमार्ग निर्माण शुरु भएको छ। पदमार्ग निर्माण कार्य नेपाल पर्यटन बोर्ड र शिवपुरी गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा शुरु भएको हो ।
परियोजनामा नेपाल पर्यटन बोर्ड र गाउँपालिकाबाट कुल ६ लाख रुपैयाँ खर्चमा ३ किलोमीटर पदमार्ग निर्माण सम्पन्न भैसकेको छ भने पाटीस्वारासम्म छिचोल्न थप काम अगाडि बढाइएको छ । शुरुवाती चरणमा स्थानीयवासीहरूको सक्रिय सहभागितामा २३० जनाले जनश्रमदानसमेत गरिसकेका छन् ।
निर्माण समितिका अध्यक्ष दिलकुमार गोलेको नेतृत्वमा सम्पन्न पहिलो चरणको यस पदमार्ग निर्माणले स्थानीय सहकार्य, पर्यटन प्रवर्द्धन र सामुदायिक सहभागिता बीचको समन्वयलाई उजागर गरेको छ।
पदमार्ग अर्खौले-पाटीस्वारा हुँदै शिवपुरीका हरियाली वन, हिमशृङ्खला र ग्रामीण जीवनशैलीको अवलोकन गर्दै गुर्जे भञ्ज्याङसम्म पुग्न सकिन्छ। राजधानी काठमाडौं नजिकैको आकर्षक हाइकिङ गन्तव्यका रूपमा अर्खौले क्षेत्र अब झनै सम्भावनायुक्त बनेको छ।
स्थानीय सरकार र पर्यटन बोर्डको सहकार्यमा सम्पन्न यो परियोजनाले भविष्यमा पर्यटकीय आवागमन वृद्धि, रोजगारी सिर्जना र समग्र ग्रामीण विकासमा टेवा पुगाउने अपेक्षा गरिएको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।