प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं,जेठ १३ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका छन् ।
सभाको आजको बैठक सुरु भएलगत्तै प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् ।
अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेको बैठक बस्न नसकेपछी सूचना टाँस गरेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको थियो ।
साढे दुई बजेसम्मका लागि स्थगित गरिएको बैठक पनि बस्न नसकेपछि दोस्रो पटक सूचना टाँस गरी भोली बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान राखेको छ ।
प्रतिनिधि सभाको आज बिहान ११ बजेको बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध शुरु गरेका थिए ।
सभामुख घिमिरेसँग समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरे ।
सांसद पुनले ‘भिजिट भिसा’का नाममा हुने मानव तस्करी लगायतका सम्पूर्ण घटनामा अनुसन्धान गर्ने सबै निकाय गृह मन्त्रालय अन्तर्गत रहेको अवस्थामा गृहमन्त्री लेखकलाई राजीनामा दिएर निष्पक्ष अनुसन्धानको लागि वातावरण बनाउन माग गरे ।
यसैगरी रास्वपाका सांसद खनालले गृहमन्त्री लेखको राजीनामा मात्रै नभई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएर घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठनको माग गरे ।
बैठकमा सभामुख घिमिरेले नियमित कार्यसूचीमा जान र विषय उठाउन सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई पटक–पटक आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदहरुले बैठकमा अवरोध जारी राखे ।
त्यसपछि सभामुख घिमिरेले बैठकमा सत्तापक्षीय दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए पनि प्रतिपक्षी दलका सांसदहरु उठेर नाराबाजी शुरु गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका थिए ।
संसद् अवरुद्ध भएपछि सभामुख घिमिरेले सभा सुचारु गर्नका लागि दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
छलफलमा प्रतिपक्षले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको अडान कायम राखेपछि बैठक बस्न नसकेको हो ।