शिवपुरीमा कृषि रुपान्तरण परियोजनाको समिक्षात्मक छलफल कार्यक्रम सम्पन्न



नुवाकोट,जेठ १४ । शिवपुरी गाउँपालिकामा सञ्चालनमा रहेको ‘कृषि रुपान्तरण परियोजना’ को समिक्षात्मक छलफल कार्यक्रम हालै सम्पन्न भएको छ। कार्यक्रममार्फत गाउँपालिकाले कृषिलाई प्रमुख व्यावसायिक क्षेत्रका रूपमा विकास गर्नुका साथै महिलालाई आत्मनिर्भर बनाउन विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ।

शिवपुरी गाउँपालिकाले महिलाहरूलाई समूहमा आबद्ध गराई नियमित बचतसहित कृषि तथा पशुपालनमा सक्रिय बनाउन परियोजना अघि सारेको हो। यस परियोजनाको मूल उद्देश्य गाउँपालिकाभित्रका महिलाहरूको आयआर्जनमा वृद्धि गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउनु रहेको छ।

कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलियाले, “सम्पूर्ण किसान वर्गको साथ र मेहनतले कार्यक्रमलाई लक्षित गन्तव्यमा पुर्‍याउन सकिन्छ,” भन्दै सामूहिक प्रयासको महत्त्वमा जोड दिए ।

यस्तै, गाउँपालिका उपाध्यक्ष बीरबहादुर तामाङले महिला लक्षित कार्यक्रमहरूलाई सदुपयोग गर्न सकेमा अब गाउँ बाहिर रोजगारीका लागि जानु नपर्ने बताउँदै, “गाउँ सरकारको योजनालाई गम्भीरताका साथ कार्यान्वयन गर्दै जानु आवश्यक छ,” भन्ने धारणा राखे ।

परियोजना सञ्चालनसँगै शिवपुरी गाउँपालिकामा कृषि तथा पशुपालन क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्