हाजमोलामा सिसा भेटिएपछि ….



मकवानपुर,जेठ १४ । डाबर नेपालका उत्पादन हाजमोला चटकोलामा सिसा भेटिएको गुनासो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको छ ।

हेटौंडा–४ स्थित एक मार्टबाट किनिएको हाजमोला खाँदा दुई स्थानीयको जिब्रोमा चोट लागेपछि सिसा परेको आशंका जनाउँदै प्रशासनमा उजुरी दिएका थिए । उनीहरूले हाजमोला चपाउँदा सिसा चपाएको जस्तो महसुस गर्नुका साथै जिब्रो काटिएको बताएका थिए ।

घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय मकवानपुरको संयुक्त टोलीले सोमबार उक्त मार्टमा अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले पसलमा बिक्रीमा रहेका हाजमोला चटकोलाका ११ बोतल अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

उत्पादनमा केही असमान्य तत्व भेटिएको गुनासो आएपछिे अनुसन्धानका लागि नमूना संकलन गरिएको खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत पंकज दाहालले बताए ।

अनुसन्धान रिपोर्ट नआउञ्जेलका लागि हाजमोला बिक्रीमा रोक लगाउन मार्ट सञ्चालकलाई अनुरोध समेत गरेको छ । हेटौडा-७ मिलन चोकका स्मिता पौडेल र हेटौंडा ४ की श्रीया रिजालले गत बिहीबार हाजमोला चटकोला किनेर खाँदा सिसा भेटेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्