नुवाकोटको तादीमा साइबर अपराधबारे सचेतना कार्यक्रम सम्पन्न

नुवाकोट,जेठ १४ — “सावधानी अपनाऔं, साइबर अपराधबाट बचौं” भन्ने मुल नारासहित साइबर अपराधसम्बन्धी एकदिने सचेतना कार्यक्रम आज अमर ज्योति प्राविधिक विद्यालयमा सम्पन्न भएको छ।
कार्यक्रम तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, अमर ज्योति प्राविधिक विद्यालयका प्रधानाध्यापक श्री सुरेन्द्र अधिकारी, र इलाका प्रहरी कार्यालयका बरिष्ठ सई श्री दीपेन्द्र प्रसाद जैसवाल तथा सहायक हल्दार बल बहादुर थापाको आतिथ्यता रहेको थियो।
कार्यक्रममा तादी गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा प्रशिक्षक श्री पुरुषोत्तम वाग्लेले साइबर अपराध के हो, यसबाट कसरी जोगिन सकिन्छ, सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिए।
सचेतना कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा साइबर सुरक्षाको महत्त्वबारे जागरुकता फैलाउनु रहेको आयोजकले जनाएका छन्।
यस किसिमका कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जानुपर्नेमा सबै वक्ताहरूको जोड रहेको थियो।