पार्टी अध्यक्षको हैसियतमा जेठ १५ को कार्यक्रमबारे प्रधानमन्त्रीको अभिव्यक्ति आएको हो



काठमाडौं,जेठ १४ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनताको खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन उत्सवका रुपमा मनाउन लागिएको बताएका छन् । 

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताउका हुन्  । पोखरेलले गणतन्त्रलाई सरकार र गणतन्त्र स्थापनामा भुमिका खेल्ने पार्टीहरुले समेत उत्सवको रुपमा मनाउनुपर्ने बताए ।

एमालेले गणतन्त्रलाई उत्सवको रुपमा रक्षात्मक भएर नभई यसको महत्व स्थापित गर्नको लागि मनाउन लागेको जिकिर गरे । संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गर्ने दिन नै गणतन्त्र दिवस पर्ने गरेको कारण राज्यको उपस्थिति कमजोर भएको भन्दै महासचिव पोखरेलले यसमा सुधार गर्न आवश्यक रहेको बताए । 

पोखरेलले पार्टी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेको कार्यक्रमबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीको रुपमा नभई पार्टी अध्यक्षको रुपमा दिएको स्पष्ट पारे ।  प्रधानमन्त्री  ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै सोही अनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए  । महासचिव पोखरेलले पार्टीको भेलामा पार्टीको नीति बोलेको उल्लेख गर्दै भ्रममा नपर्न  आग्रह समेत गरे । 

महासचिव पोखरेलले प्रधानमन्त्री बजेट निर्माणको प्रक्रियामा व्यस्त हुनुपरेको कारण मानव अधिकार आयोगको कार्यक्रममा उपस्थित हुन नसकेको समेत स्पष्ट पारे । प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विज्ञप्ति जारी गरेको कारण प्रधानमन्त्रीले कार्यक्रम बहिस्कार गरेको हल्लामा कुनै सत्यता नरहेको पोखरेलको  भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्