शिवपुरीको आफ्नै पहिचान – स्थानीय उत्पादन, छहरे-टोखा सडकमै बजार

• भरतसन्तोषी लामा
नुवाकोट,जेठ १४ । कुनै समय थियो, जब सडक छेउमा कृषि उत्पादन बेच्ने काम लाज मानिने विषय हुन्थ्यो। तर आज, शिवपुरी–८ थापगाउँकी ६५ वर्षीया मैयादेवी थपलिया जस्ता कृषकहरूले आफ्नै घरआँगनलाई बजार बनाउँदै स्थानीय उत्पादनको बिक्री वितरण गर्दै आर्थिक आत्मनिर्भरता हासिल गरिरहेका छन्।
मैयादेवीको “वनदेबी कृषि फर्म” मा उत्पादन हुने तरकारी र फलफूलहरू अहिले छहरे–टोखा सडकखण्डको रुद्रेबगैँचानजिकै बिक्री वितरण हुन्छन्। उनको पसल कुनै भव्य संरचना होइन – तर ताजा उत्पादन, मेहनत र आत्मविश्वासले भरिएको छ।
सडकको स्तरोन्नति र विस्तारसँगै अहिले शिवपुरी क्षेत्रको आर्थिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ। विशेष गरी छहरे–टोखा सडकखण्डकै चौघडा, थानाभञ्ज्याङ् र गुर्जे क्षेत्रका किसानहरूले पनि घर नजिकै तरकारी तथा फलफूल बिक्री वितरण गर्न थालेका छन्। बेमौसमी तरकारीदेखि लिएर मौसमी फलफूलसम्म स्थानीय स्तरमा उत्पादन हुने सबै सामग्री किसानहरूले आफैंले उपभोक्तासम्म पुर्याउँदै छन्।
“पहिले पैठारी लिएर बजार जानुपर्थ्यो, अब त ग्राहक आफैं आइपुग्छ,” चौघडाका किसान कृष्ण राइ भन्छन्, “घरमै बसेर सडक छेउमा उभिएर तर्बुजा तथा अन्य फलफूल बेच्न पाउँदा त झन् खुसी लाग्छ।”
स्थानीय उत्पादन, स्थानीय उपभोक्ता र स्थानीय उद्यमशीलताको यस्तो समन्वयले शिवपुरीलाई ‘आफ्नै आगनमा बजार’ भन्ने नयाँ पहिचान दिएको छ। स्थानीय जनशक्ति, सीप र श्रमको उपयोग गर्दै कृषकहरूले आर्थिक सशक्तीकरणको नयाँ अध्याय कोरेका छन्।
यसप्रकारको परिवर्तनले केवल आर्थिक फाइदा मात्र दिएको छैन, गाउँका किसानहरूमा आत्मगौरव र भरोसा पनि बढाएको छ। उनीहरू अब आफूले उत्पादन गरेको मौसम अनुसारको फलफूल, तरकारी जस्ता कुरालाई सहजरूपमा बजारसम्म पुर्याउने अवस्थामा छन् – त्यो पनि आफ्नै गाउँघरको सडकको आँगनमै।
सुनखानीकी चमेली तामाङ भन्छिन् – ‘मैले आजभोलि नियमित फर्सीको मुन्टा बेचेर दैनिक एक हजार आम्दानी गरिरहेकी छु।’ त्यसो त सडक खण्ड हुँदै आवतजावत गर्ने यात्रुको मनसाय बुझेर कसैले काफल, खुर्पानी, मुला, केरा जस्ता फरकफरक सामान बिक्री गरिरहेको तामाङले बताइन् । उत्पादनलाई थप जोड दिएर बिक्रीवितरण बढाउने हो भने आर्थिक जोहोको गतिलो माध्यम यहि बन्ने देखिन्छ ।