न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं,जेठ १५ । नेपाल भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई देशका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । दुई पक्षले आगामी दिनमा आपसी सहयोगका विभिन्न विषयमा दिगो साझेदारीका लागि सहमति गरेका छन् ।
भेटपछि परराष्ट्रमन्त्री डा राणाले ऐतिहासिक भेटवार्ता भएको र नेपाल-न्युजिल्यान्डबीच सम्बन्ध थप प्रगाढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन । न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स दुईदिने नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौँ आइपुगेका हुन् । उनको यो पहिलो नेपाल भ्रमण हो ।
उपप्रधानमन्त्री पिटर्सले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।