बजेट वक्तव्य : कृषिमा आधुनिकीकरण, अर्थतन्त्रमा रूपान्तरणलाई प्राथमिकता

काठमाडौं, जेठ १६। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कृषिको आधुनिकीकरण र समग्र अर्थतन्त्रको रूपान्तरणलाई प्राथमिकतामा राखेको छ।
संघीय संसद्को संयुक्त बैठकमा बिहीवार बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “कृषिमा आधुनिकीकरण, अर्थतन्त्रमा रूपान्तरण” कार्यक्रमका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरे ।
अर्थमन्त्री पौडेलले कृषिलाई आर्थिक विकासको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, मूल्य शृंखलाको विकास र किसानको आयस्तर उकास्नका लागि सो कार्यक्रम अगाडि सारिएको जानकारी दिए ।
बजेटले कृषि क्षेत्रमा नवप्रवर्तन, पूर्वाधार निर्माण, जलस्रोतको उपयोग, कृषि सहकारी तथा निजी क्षेत्रको साझेदारीलाई समेत बल दिएको छ। साथै, कृषि उत्पादनलाई व्यापारिकरूप दिई निर्यात बढाउने लक्ष्य पनि सरकारले लिएको छ।
सरकारको भनाइमा, कृषिको आधुनिकीकरणमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र आर्थिक आत्मनिर्भरतातर्फ महत्वपूर्ण कदम चालिनेछ।