नुवाकोट जिल्ला प्रशासन पहिलो स्थानमा

नुवाकोट,जेठ १६ । गृह मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय नुवाकोट पहिलो भएको छ । मूल्याङ्कन अनुसार मन्त्रालयले नुवाकोटलाई पहिलो श्रेणीमा राखेको छ ।
चालु आर्थिक वर्ष २०८१÷ ०८२ को तेस्रो त्रैमासिक अवधि (माघ –चैत्र)को सम्पादित कार्यहरूका आधारमा नुवाकोट प्रशासनले पहिलो स्थान प्राप्त गरेको हो । मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
जसअन्तर्गत शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागू औषध र नियन्त्रण, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहरीकरणलगायतका विषयमा गृह मन्त्रालयले मूल्याङ्कन गर्ने गरेको प्रमुख जिल्ला अधिकारी शशि धर घिमिरेले बताए । उनका अनुसार मन्त्रालयले जिल्ला प्रशासनका विभिन्न ७० वटा सूचकहरुमा मूल्याङ्कन गर्ने गरेको छ ।
गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको जिल्ला श्रेणी तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये नुवाकोटले १८ दशमलव १२५ अङ्क प्राप्त गरेको छ । सो अवधिमा नुवाकोट प्रशासनले अपलोड गरेको ५३ मध्ये ५२ वटा विवरण स्वीकृत भएको थियो ।
गत आव २०८०÷०८१ को तेस्रो त्रैमासिक अवधि (माघ –चैत्र) मा भने नुवाकोट ६१ औँ स्थानमा रहेको थियो । नुवाकोटसँगै इलाम, भक्तपुर, रामेछाप र स्याङ्जा जिल्लाले पनि समान १८ दशमलव १२५ अङ्क पाएको छ ।
गृह मन्त्रालयले सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंग गरेको कार्य सम्पादन सम्झौता र जिल्ला प्रशासन कार्यालयहरूले सम्पादन गरेका कार्यहरूको मूल्याङ्कनमा त्रैमासिक नतिजा सार्वजनिक गर्दे आएको छ । नुवाकोटमा राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र लिन आउनेहरूको उल्लेख्य हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँको भनाई छ ।