शिवपुरीको वडा नम्बर ६ मा अभिभावकलाई साबुन बनाउने तालिम, भोलि कालिकादेवीमा कार्यक्रम



नुवाकोट,जेठ १६ — शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुद्रादेवी माध्यमिक विद्यालयका अभिभावकलाई लक्षित गरी साबुन बनाउने तालिम सञ्चालन गरिएको छ। महिला आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिमसँगै व्यावसायीकरणका सम्भावनालाई समेत समेटिएको छ।

शैक्षिक क्यालेन्डरअनुसार विद्यालयमै आयोजित उक्त तालिममा करिब ५० जना अभिभावकको सहभागिता रहेको थियो। कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष विष्णु श्रेष्ठ, वडा सदस्य कमल लामा, विद्यालयका प्रधानाध्यापक महेन्द्र ढकाल तथा अन्य शिक्षक, अभिभावकहरू सहभागी थिए।

तालिममा सहभागीहरूलाई ग्रामिण स्तरमै सजिलैसँग साबुन कसरी बनाउने भन्ने व्यावहारिक ज्ञान दिइएको थियो। घरेलु स्तरमा साबुन बनाउन चाहिने सामग्रीहरू—नारिवलको तेल वा वनस्पति तेल, सोडियम हाइड्रोक्साइड (लाइ), पानी, आवश्यक भएमा रङ र सुगन्ध मिसाउन प्रयोग हुने प्राकृतिक तत्वहरू—सहितको प्रयोग देखाइएको थियो।

प्रक्रिया अनुसार, पहिले सोडियम हाइड्रोक्साइडलाई पानीमा सुरक्षित रूपमा घोलिन्छ र चिसिन दिइन्छ। त्यसपछि त्यसमा तेल मिसाएर राम्ररी चलाइन्छ। केही समयपछि मिश्रण बाक्लो हुँदै जान्छ र यसलाई ढाँचामा हालेर २४–४८ घण्टा राखिन्छ। साबुन तयार भएपछि काटेर केही हप्ता सुकाउने गरिन्छ, जसले गर्दा साबुन बलियो र प्रयोगका लागि उपयुक्त हुन्छ।

वडा कार्यालयको सहजीकरणमा सम्पन्न उक्त तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्थानीय स्तरमै साना उद्योगको सम्भावना देखाएको वडा सदस्य कमल लामाले जानकारी दिए। “यस किसिमका सीपमूलक कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपले सशक्त बनाउने दिशामा सहयोग पुर्‍याउँछन्,” उनले भने।

यसैक्रममा, भोलि यही तालिम कार्यक्रम वडा नम्बर ६ कै कालिकादेवी माध्यमिक विद्यालयमा सञ्चालन हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्