शिवपुरी गाउँपालिकाद्वारा पालिकास्तरीय पूर्ण खोप सुनिश्चितताको प्रतिबद्धता

नुवाकोट – जेठ १७ । शिवपुरी गाउँपालिकामा पालिकास्तरीय वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष वीर बहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, सबै वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जन, विभिन्न शाखा प्रमुखहरू, स्थानीय अस्पताल तथा स्वास्थ्य चौकी प्रमुखहरू, ग्रामीण सामुदायिक स्वास्थ्य इकाइका प्रतिनिधिहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष थपलियाले सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने कार्यमा गाउँपालिकाले आवश्यक नीति, स्रोत र समन्वयको व्यवस्था गरिरहेको स्पष्ट पार्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।
स्वास्थ्य क्षेत्रमा समावेशी र पहुँचयुक्त सेवा प्रवाह गर्न खोप कार्यक्रमको दीगो कार्यान्वयन अपरिहार्य रहेको भन्दै सहभागीहरूले समन्वयात्मक ढंगले अघि बढ्ने प्रतिवद्धता जाहेर गरे।