विदुर–१० स्थित सातबिसे कुवापानी (हिटी)को पुर्ननिर्माण कार्य तीव्र, सञ्चालन पछि उपभोक्ता खुशी



नुवाकोट, जेठ १७–विदुर नगरपालिका वडा नं १० मा अवस्थित ऐतिहासिक र परम्परागत मौलिक सम्पदाको रुपमा चिनिने सातबिसे कुवापानी (हिटी)को लामो समयदेखि जीर्ण अवस्थामा रहेको संरचनाको मर्मतसम्भार तथा पुर्ननिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको विशेष पहल र नेतृत्वमा सञ्चालन भइरहेको सो कार्यको शुक्रबार नगरप्रमुख श्रेष्ठसहित वडा नं १० का अध्यक्ष गणेशकुमार नेपाल, स्थानीय उपभोक्ता समिति र अन्य सरोकारवाला पक्षहरुको सहभागितामा अवलोकन गरिएको छ।

परम्परागत वास्तुकला र मौलिक शैलीलाई जिवन्त राख्दै हिटीको पुनःनिर्माण गरिएको हो। हालै पानी सञ्चालनमा ल्याइएसँगै स्थानीय उपभोक्ताहरुमा सेवा प्रवाह सहज भएको छ र उनीहरुमा ठूलो उत्साह देखिएको छ।

स्थानीय बासिन्दाहरुका अनुसार, यस हिटीको पुनः सञ्चालनले ऐतिहासिक महत्व बोकेको सम्पदाको संरक्षणमा टेवा मात्र नपुगी दैनिक जीवनमा पनि ठुलो सहजता आएको छ।

विदुर नगरपालिकाले आगामी दिनमा पनि यस्ता मौलिक र ऐतिहासिक सम्पदाको संरक्षण र पुनःउत्थानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्