गुर्जे अस्थायी प्रहरी पोस्टका लोकप्रिय प्रहरी प्रमुख घिसिङसहित तीन जनाको बिदाइ

नुवाकोट,जेठ १७ — नुवाकोटको गुर्जे अस्थायी प्रहरी पोस्टमा कार्यरत लोकप्रिय प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर घिसिङसहित तीन जनाको सरुवा भएको छ। घिसिङसँगै हवल्दार आसबहादुर गुरुङ र प्रहरी जवान विनोद रानाको पनि जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएको हो।
सात महिनादेखि गुर्जे पोस्टमा कार्यरत रहँदै आएका असई रामबहादुर घिसिङ स्थानीयहरूसँगको समन्वय, जिम्मेवार कार्यशैली, र समाजसेवामूलक सक्रियताका कारण अत्यन्त लोकप्रिय थिए। उनको नेतृत्वमा गुर्जे पोस्टको स्थायी जग्गा प्राप्तिको प्रयास, सवारी दुर्घटना न्यूनीकरण, सडक सरसफाइ, ट्राफिक जनचेतना, र अपराध न्यूनीकरणजस्ता कार्यहरूमा उल्लेखनीय योगदान रहेको थियोे ।
उनले ट्राफिक प्रहरीसँग समन्वय गरी अनावश्यक हर्न निषेध अभियान, यात्रुबाहक सवारीसाधनहरूमा फोहोर व्यवस्थापनको व्यवस्था, र टोलटोलमा पुगेर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका थिए। चेलीबेटी बेचबिखन न्यूनीकरण तथा शान्ति सुरक्षामा उल्लेखनीय योगदान दिएका घिसिङले स्वास्थ्य समस्या हुँदाहुँदै पनि आफ्नो जिम्मेवारीमा कुनै कमी हुन दिएनन्।
अब घिसिङको स्थानमा प्रहरी सहायक निरीक्षक (असई) बिरेन्द्र कुमार यादवलाई गुर्जे अस्थायी प्रहरी पोस्टको नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ।
गुर्जेबाट सरुवा भएका रामबहादुर घिसिङ, आसबहादुर गुरुङ र विनोद रानालाई आगामी जिम्मेवारीमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। स्थानीय समुदायले उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा अझ प्रगतिको कामना गरेका छन्।