बेलकोटगढीमा गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत सिप तालिमको शुभारम्भ



नुवाकोट,जेठ १७ — नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ३ र ४ का गृहिणी महिला दिदीबहिनीहरूका लागि दैनिक प्रयोगमा आउने जुत्ता–चप्पल सिलाउने तथा बनाउने सिप तालिमको औपचारिक शुभारम्भ गरिएको छ।

गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त तालिमको उद्घाटन बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङले गरेका हुन् । तालिम शुभारम्भ कार्यक्रम वडा नं. ४ नेपानेस्थित सुकुमान मेमोरियल पोलिक्लिनिकको परिसरमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी सिपमा दक्ष बनाउँदै आर्थिक सशक्तीकरणमा जोड दिनु रहेको छ। तालिमबाट महिलाहरूले आफ्नो सीपको प्रयोग गर्दै घरमै रोजगारी सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।

उद्घाटन मन्तव्यका क्रममा नगर प्रमुख गुरुङले महिलाको आत्मनिर्भरताका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने उल्लेख गरे । उनले स्थानीय सरकार महिलामैत्री योजना कार्यान्वयनमा प्रतिबद्ध रहेको समेत बताए ।

तालिममा सहभागी महिलाहरूले यस्तो अवसरले आत्मविश्वास र भविष्यप्रतिको आशा थपिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्