नुवाकोट आएका प्रचण्डले भने- ‘राजावादीहरु धेरै चुरीफुरी नगर्नुस्’



नुवाकोट, जेठ १७ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूलाई धेरै चुरीफुरी नगर्न आग्रह गरेका छन्।

प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल बंशवादी निरंकुश सामन्ती शासनबाट निकै अगाडि बढिसकेकोले यस्ता चुरीफुरीको औचित्य नरहेको बताएका हुन्। “नेपाल लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको छ,” प्रचण्डले भने, “अब पुनः बंशवाद र निरंकुशतामा फर्कने कुरा सान्दर्भिक छैन।”

उनले भाडामा मान्छे ल्याएर कहिलेकाहीँ राजावादीहरूले प्रदर्शन गर्ने गरेको आरोप समेत लगाए। विभिन्न विद्यार्थी संगठन र भातृ संगठनहरूमा आएको मत परिणामले समेत राजावादी र राप्रपाको राजनीतिक भविष्य कता जाँदैछ भन्ने प्रष्ट भइसकेको उनले दाबी गरे। “संविधान खारेज गर्ने हल्ला गर्दै हिँड्नुको कुनै तुक छैन,” प्रचण्डले टिप्पणी गरे ।

साथै, उनले वर्तमान सरकारको चर्चा गर्दै कांग्रेसले यसबाट क्षति व्यहोरेको र एमालेको छवि बदनाम बनेको बताउँदै माओवादी पार्टी भने थप उकालो यात्रा तय गरिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्