नुवाकोटको सेरा दरबारबारे प्रचण्डको प्रस्टोक्ति : “संलग्नता भए कारबाही गरौं, अफवाह नफैलाऔं”

नुवाकोट, जेठ १७ –नुवाकोटको सेरा दरबारबारे प्रचण्डले प्रस्टोक्ति दिएका छन् । प्रेस सेन्टर नेपाल नुवाकोटको आयोजनामा शनिबार सम्पन्न पत्रकार सम्मेलनमा सेरा दरबार प्रकरणबारे उठेको प्रश्नको जवाफ दिंदै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू उक्त घटनासँग कतैबाट पनि संलग्न नरहेको स्पष्ट पारेका छन्।
प्रचण्डले संसदको रोस्ट्रममै उभिएर सेरा दरबार प्रकरणमा यदि आफू संलग्न रहेको प्रमाणित भए कारबाहीको सामना गर्न तयार रहेको बताएको उल्लेख गरे। तर सरकारले आफू उक्त घटनामा संलग्न नभएको देखेपछि छानबिन गर्ने आँटसमेत नगरेको आरोप उनले लगाए।
“माओवादी पार्टी र नेतृत्वलाई बदनाम गर्न सेरा दरबार प्रकरणमा मलाई मुछिएको हो,” उनले भने, “मैले संसदबाटै भनें— छानबिन मबाटै सुरु गर्नुहोस्। तर जसको आफ्नो कर्तुत छ, उसले डरले छानबिन गरेन।”
प्रचण्डले सेरा दरबारसँग आफ्नो कुनै नाता–साइनोसमेत नरहेको दाबी गर्दै यसलाई शुद्ध रुपमा ‘कुप्रचार’ मात्र भएको टिप्पणी गरे। उनले आफूजस्तै अन्य नेताहरू पनि आफूमाथि छानबिन गर्न खुला रूपमा चुनौती दिन नसक्ने दाबी गर्दै भने, “गिरिबन्धु टी स्टेट प्रकरणमा मबाटै छानबिन गर भनेर भन्न सक्छन्? सक्दैनन्, किनकि म मात्र यस्तो व्यक्ति हुँ, जसबाट कुनै गल्ती भएको छैन।”
उनले पुनः क्यान्टोनमेन्टबारे समय–समयमा विविध विषय उठाइनु शान्ति प्रक्रियासँग प्रत्यक्ष सम्बन्धित संवेदनशील विषयमा अनावश्यक विवाद सिर्जना गर्ने नियत रहेको टिप्पणी गरे। “गिरिजाप्रसाद कोइरालाले सबै जिम्मा लिएका थिए, त्यसबेला डा. रामशरण महत अर्थमन्त्री थिए। सबै हिसाब–किताब क्लियर भएको विषयलाई बारम्बार उठाएर माओवादीलाई विवादमा ल्याउने प्रयास भइरहेको छ,” प्रचण्डले भने ।