नुवाकोटको स्वयम्भू महाचैत्यको प्रवेशद्वारमा प्रस्तर मूर्तिको अनावरण



नुवाकोट, जेठ १७ – वागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना इकाइ, काठमाडौंको पहलमा आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित बजेटबाट स्थापना गरिएको जोडी सिंहको प्रस्तर मूर्ति नुवाकोट (नक्वाः) स्थित ऐतिहासिक स्वयम्भू महाचैत्यको प्रवेशद्वारमा अनावरण गरिएको छ।

शनिवार सम्पन्न उक्त अनावरण कार्यक्रम वागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री तथा प्रदेश सभा सदस्य माननीय शैलेन्द्र मान वज्राचार्य, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ र मानार्थ सदस्य डा. राजेन्द्र मान वज्राचार्यको संयुक्त उपस्थितिमा सम्पन्न भयो।

उक्त अवसरमा नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्था तथा परिवारले समस्त अतिथिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ। संस्थाका अध्यक्ष ईश्वर मान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कार्यक्रममा उपस्थिति जनाउनु भएका विदुर नगरपालिकाका वडा नं. १, २, र ६ का वडाध्यक्षहरू, मानार्थ सदस्यहरू, आजीवन सदस्यहरू, विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरू तथा सम्पूर्ण स्थानीय समुदायप्रति समेत विशेष आभार प्रकट गरिएको छ।

संस्थाका अनुसार यो प्रस्तर मूर्ति स्थापनाले स्वयम्भू महाचैत्यको ऐतिहासिक र सांस्कृतिक महत्वमा थप गरिमा थपेको छ र यसले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्