तादी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सम्पन्न, २३१ जनाले सेवा प्राप्त

नुवाकोट,जेठ १७ — तादी गाउँपालिकाको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय, विदुरको सहजीकरणमा आयोजित तीनदिने राष्ट्रिय परिचयपत्र दर्ता शिविर सफलतापूर्वक सम्पन्न भएको छ। यहि जेठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको शिविरमा यसअघि विभिन्न कारणले राष्ट्रिय परिचयपत्र दर्ताबाट छुट भएकाहरूलाई लक्षित गरिएको थियो।
शिविरको माध्यमबाट तादी गाउँपालिकाका २३१ जना नागरिकले राष्ट्रिय परिचयपत्र दर्ता गर्ने अवसर प्राप्त गरेका छन्। यसले स्थानीय तहमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।
शिविर सफलतापूर्वक सम्पन्न गर्न तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, अन्य जनप्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारीहरूले सहजीकरण भूमिका निर्वाह गरेका थिए। गाउँपालिकाले उनीहरूप्रति विशेष आभार व्यक्त गरेको छ।
यस किसिमको सेवा गाउँमै प्रदान गर्दा नागरिकहरूले सहज रूपमा सरकारी सेवा प्राप्त गर्ने वातावरण बनाउने प्रयासमा सहयोग पुगेको जनाइएको छ।