विदुरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको भव्य उद्घाटन

नुवाकोट, जेष्ठ १७ – पञ्चकन्या सेवा समितिको आयोजनामा विदुर नगरपालिका–८ स्थित पञ्चकन्यामाईंको मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, कथा प्रवचन–२०८२ को कलश यात्रा तथा उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
यही जेठ १७ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननीय अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यता रहेको थियो। साथै, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, विभिन्न जनप्रतिनिधिहरू, समाजसेवी, कर्मचारी तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विदुर नगरपालिकाले संरक्षकको रूपमा यस महायज्ञमा आवश्यक सहजीकरण तथा सहयोग प्रदान गर्दै आएको समितिले जनाएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेको यस सप्ताह ज्ञान महायज्ञले नगरवासीहरूमा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।