बिनाशर्त आत्मसमर्पण गर्न ट्रम्पद्वारा इरानी नेतालाई आग्रह



काठमाडौं,असार ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बिनाशर्त आत्मसमर्पण गर्न माग गरेका छन् । इरानी नेता आयोतोल्ला अली खामेनी बसेको स्थान आफूलाई थाहा भएपनि हालका लागि खामेनी सुरक्षित रहेको ट्रम्पले बताए । ट्रम्पले कम्तीमा अहिलेका लागि खामेनीलाई नमारिने बताए।

इजरायल र इरानबीचको युद्ध छैटौँ दिनमा पुग्दा आपसी बम आक्रमण र प्रत्याक्रमणसँगै वाक् युद्ध पनि जारी छ । त्यसै क्रममा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत इरानी नेतालाई आत्मसमर्पणको आग्रह गरेका हुन् ।

अर्को सामाजिक सञ्जाल एक्समा इरानी नेता खामेनीले भने इरानले कुनै सम्झौता नगर्ने जवाफ लेखेका छन् । खामेनीले इरानी आकाश पूर्णरुपमा आफूहरूको नियन्त्रणमा रहेको पनि सन्देशमा उल्लेख गरेका छन् ।

यसैबीच मानवअधिकारवादी संस्थाहरूले शुक्रबारयता इरानमा इजरायली आक्रमणमा ४ सय ५० जनाभन्दा बढी मारिएको बताएका छन् । त्यसैगरी इजरायलमा २४ जना मारिएको तथ्याङ्क छ ।

दुवै देशले एकअर्कालाई बम प्रहार गरिरहेका छन् । पछिल्लो खबर अनुसार इरानले “फताह वान् हाइपरसोनिक क्षेप्यास्त्र तेलअभिभमा प्रहार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्