नुवाकोट तारकेश्वरका विभिन्न स्वास्थ्य संस्था पुरस्कृत



नुवाकोट,असार ५ । उत्कृष्ट सेवा प्रदान गरेबापत नुवाकोटको तारकेश्वरका विभिन्न स्वास्थ्य संस्था पुरस्कृत भएका छन् ।  तारकेश्वर गाउँपालिकाले उत्कृष्ट तीन स्वास्थ्य केन्द्रलाई नगदसहित पुरस्कृत गरेको छ ।

तारकेश्वर गाउँपालिकाले स्थानीय मापदण्डअनुरूप उत्कृष्ट सेवा प्रदान गरेका तीन स्वास्थ्य केन्द्रलाई पुरस्कृत गरेको छ । तारकेश्वर गाउँपालिकाले दाङसिङमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले नगद पुरस्कारसहित सम्मान गरे ।

उनले गाउँपालिकाको मूल्याङ्कनमा प्रथम भएको जोर चौतारा प्राथमिक स्वास्थ्य केन्द्र, द्वितीय भएको नेवार पानी प्राथमिक स्वास्थ्य केन्द्र र तृतीय भएको दाङ सीङ प्राथमिक स्वास्थ्य केन्द्रलाई नगदसहित सम्मान र पुरस्कार प्रदान गरेका हुन् । स्वास्थ्य सेवालाई मानव हितमा ध्यान दिएर उच्च प्राथमिकताका साथ सेवा प्रदान गर्न उनले कर्मचारीहरूलाई निर्देशन दिए ।

अध्यक्ष अधिकारीले जनताको आवश्यकता बुझेर सबै स्वास्थ्य केन्द्रहरुले जनगुनासो नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य सेवा मानवको पहिलो र विशेष अधिकार भएका कारण यसको प्रभावकारितामा ध्यान दिनसमेत उहाँले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्