त्रिशूली अस्पतालमा अनलाइन टिकेटिङपछि बिरामीलाई सुविधा

नुवाकोट,असार ५ । नुवाकोटसहित तीन जिल्लाका सर्वसाधारणको उपचार हुँदै आएको त्रिशूली अस्पतालमा अनलाइन प्रणालीमार्फत टिकेटिङ सेवा सुरु गरिएको छ । यसबाट बिरामीहरूलाई सुविधा पुगेको छ ।
नुवाकोटको त्रिशूली अस्पताल कोलोनीमा बहिरङ्ग सेवाका लागि अनलाइन टिकेटिङ सेवा औपचारिक रूपमा सुरु गरिएको हो । अब सेवाग्राहीहरूले अस्पतालको वेबसाइटमा भिजिट गरेर घर, अफिस, क्याम्पस, विद्याललयवाटै अनलाइन टिकट काट्न सक्ने अध्यक्ष उपेन्द्र बुढाथोकीको भनाई छ ।
उक्त सेवा सुरु भएसँगै बिरामीले अस्पतालको भिडभाडमा घण्टौँ लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । अनलाइन प्रणालीमार्फत सेवाग्राहीले आफ्नो रोगअनुसारको ओपिडी शाखा (विभाग) छानेर आफूले चाहेको मिति र समयको लागि टिकट काट्न सक्ने सुविधा दिइएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ ।
अनलाइन प्रणाली सेवा सहज, छरितो र पहुँच योग्य बनाउन सुरु गरिएको डा. लामाले जानकारी दिए । “सेवाको गुणस्तर बढाउने उद्देश्यले अनलाइन टिकेटिङ सेवा सञ्चालन गरिएको हो ।”
त्रिशूली अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारणले उपचार सेवा लिँदै आएका छन् । दैनिक पाँचसय जना भन्दा बढीको परीक्षण तथा उपचार सेवा हुँदै आएको छ ।
त्रिशूली अस्पतालको आधिकारिक वेबसाइटमा गई अनलाइन टिकट काट्न सकिने छ । आकस्मिक र बहिरङ्ग दुवै तर्फ बिरामीहरूको चाप बढिरहेको छ ।