शिवपुरीमा माओवादी केन्द्रद्वारा स्थानीय सरकारलाई सुझावसहित ज्ञापनपत्र बुझाइयो

नुवाकोट,असार ५ – नेकपा (माओवादी केन्द्र) शिवपुरी गाउँपालिका समिति नेतृत्वको टोलिले पालिका सञ्चालन नीति तथा कार्यक्रमहरूमा सुधार र जनमुखी नीतिहरू समावेश गर्न सुझावसहितको ज्ञापनपत्र गाउँपालिकालाई बुझाएको छ।
बागमती प्रदेश सचिवालय सदस्य तथा शिवपुरी इञ्चार्ज शिबबहादुर खातीको नेतृत्वमा गएको टोलीले स्थानीय सरकार प्रमुख गोविन्द थापलियालाई ज्ञापनपत्र बुझाउँदै सरकारको कार्यशैलीमा सुधार ल्याउन र जनताका अपेक्षाहरू पूरा गर्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा उल्लेख गरिएका बुँदाहरू नेकपा (माओवादी केन्द्र) शिवपुरीका सचिव राजकुमार गजमेरले पढेर सुनाएका थिए। कार्यक्रममा पालिका सञ्चालन नीति तथा बजेट निर्माण प्रक्रियामा जनताको सशक्त सहभागिता सुनिश्चित गर्न, सार्वजनिक सेवाको प्रभावकारिता बढाउन र समावेशी तथा पारदर्शी प्रशासनिक अभ्यासहरू अपनाउनुपर्ने सुझावहरू समेत समेटिएका छन्।
ज्ञापनपत्रमार्फत स्थानीय सरकारलाई जनता प्रति उत्तरदायी र जवाफदेही बन्ने दिशातर्फ ठोस कदम चाल्न माओवादी केन्द्रले आग्रह गरेको छ।