पञ्चकन्या गाउँपालिका–५ भदुटारमा आर्थिक वर्ष २०८२/८३ को योजना छनोट भेला सम्पन्न

नुवाकोट,असार ५ — पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा आर्थिक वर्ष २०८२/८३ का लागि योजना छनोट भेला सम्पन्न गरिएको छ।
स्थानीय तहको नीति तथा प्राथमिकताअनुसार वडास्तरीय योजनाहरुको पहिचान, प्राथमिकिकरण तथा छनोटका लागि आयोजित भेलामा विभिन्न विकास निर्माण, सामाजिक तथा पूर्वाधार सम्बन्धी योजनाहरूको प्रस्ताव संकलन र छनोट गरिएको थियो।
भेलामा वडा अध्यक्ष माधब सिटौला, वडाका जनप्रतिनिधिहरू, कर्मचारी, स्थानीय सर्वसाधारण, टोल विकास संस्था, आमा समूह, युवा समूह लगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो। भेलामा सहभागीहरूले वडा भित्रका आवश्यकता र सम्भाव्यताको आधारमा योजना छनोट गरेका हुन्।
छनोट गरिएका योजनाहरूलाई गाउँपालिकाको आगामी नीति, कार्यक्रम र बजेटमा समेटिने तयारी गरिने वडाले जनाएको छ।
स्थानीय स्तरमा विकास योजनाको छनोट प्रक्रिया सहभागीमूलक, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यले यस्तो भेला आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।