एसईईको नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक हुने

भक्तपुर,असार ५— यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक हुने भएको छ।
वि.सं. २०८१ चैत ७ गतेबाट सुरु भएको एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुर जुटिरहेको छ। कार्यालयका अनुसार बिहानदेखि बेलुकासम्म नतिजा प्रकाशनको कार्य तीव्र गतिमा भइरहेको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भने, “एसईईको नतिजा प्रकाशनका लागि निरन्तर काम भइरहेको छ। असारको तेस्रो सातासम्म नतिजा आउने अपेक्षा गर्न सकिन्छ, तर अहिल्यै कुनै निश्चित मिति भन्न सकिने अवस्था छैन।”
गत वर्षको एसईई परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए। यस वर्ष पनि करिब त्यत्तिकै संख्यामा विद्यार्थीले परीक्षा दिएका छन्।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित हुनासाथ विभिन्न वेबसाइट र एसएमएसमार्फत जानकारी लिन सकिने व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ।