नुवाकोटमा भएको सवारी दुर्घटनामा परि एकको मृत्यु

नुवाकोट, असार ५ – नुवाकोटको बेलकोटगढी नगरपालिका–७, कल्चेडी भीरस्थित गल्छी–त्रिशुली सडकखण्डमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
दुर्घटना आज दिउँसो करिब २:५० बजे भएको हो। मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ का ४० वर्षीय दिपक मगरले चलाएको ना ६ ख १०६० नम्बरको ट्रक र नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ४५ वर्षीय शंकर मान श्रेष्ठले चलाएको बा.प्र.०२–०२९ प १६४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए।
घाइते श्रेष्ठलाई तत्काल उद्धार गरी उपचारका लागि धादिङको अम्बे भरोसा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल लगिएकोमा चिकित्सकले बेलुका ५:०५ बजे श्रेष्ठलाई मृत घोषणा गरेका हुन्।
ट्रक चालकलाई नियन्त्रणमा लिइएको र सवारी दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।