नवलपरासीमा बाढीले यात्रुबाहक बस बगायो, सबै यात्रु सकुशल उद्धार



नवलपरासी,असार ६ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ।

काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति खोलाको नयाँ डाइभर्सन पार गर्ने क्रममा आएको बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए।

बसमा तीन शिशुसहित ३८ जना यात्रु सवार थिए। एक्साभेटरको सहयोगमा सबै यात्रु सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण खोलाबाट बस निकाल्न नसकिएको र यात्रुको सामानको अवस्था पनि स्पष्ट नभएको प्रहरीले जनाएको छ।

बाढी र वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक हिलाम्य भई नारायणघाट–बुटवल सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्