सूर्यविनायक-धुलिखेल सडक: ४७ प्रतिशत काम सम्पन्न



काभ्रे,असार ६ । निर्माणाधीन अरिनको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेल सडकखण्ड बिस्तार कार्यले सोचे अनुरुप गति लिन सकेको छैन । सो सडक भएर पूर्व जाने चालक र यात्रुलाई सडक छिचोल्न सँधै हम्मे–हम्मे पर्ने गरेको छ ।

विस्तारका लागि भत्काइएको सडकमा घाम लाग्दा धूलो र पानी पर्दा हिलोले सास्ती थपेको छ । निर्माणाधीन सडक अन्तर्गत साँगा–धुलिखेल सडकखण्डमा हालसम्म ४७ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जनाएको छ ।

कम्पनीका अनुसार, अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण सम्पन्न भएको छ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडक चार लेनमा विस्तार थालेको २९ महिना बित्यो । तर अहिलेसम्म निर्माण प्रगति ४७ प्रतिशत मात्र छ । अबको ७ महिनाभित्र ५३ प्रतिशत काम सक्नुपर्नेछ ।

निर्माणाधीन सडक बिस्तार कार्य समयमै सम्पन्न नहुने भएपछि स्थानीय एवं राजमार्ग प्रयोगकर्ताहरुमा निराशा छाएको छ । सुक्खायाम सुरु नहुँदै राजमार्गमा भइरहेको निर्माण कार्यबाट हुने धुँवाधुलोका कारण उनीहरु आजित भएका छन् । निर्धारित समयमै सडक बिस्तार कार्य सम्पन्न उनीहरुको माग छ ।

भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी विस्तारको काम २०७९ पुस २४ मा शुरु भएको थियो । ३६ महिनामा सम्पन्न गर्ने गरी सडक विस्तारका लागि साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्