बेलकोटगढीका किसानलाई अनुदानमा कागतीको बिरुवा वितरण



नुवाकोट, असार ६ । बेलकोटगढी नगरपालिकाले स्थानीय किसानलाई अनुदानमा कागतीको बिरुवा वितरण सुरु गरेको छ। किसानको माग र मापदण्डका आधारमा वितरण गरिएको बिरुवा नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले संयुक्त रूपमा वितरण सुरु गरेका हुन् ।

नगरप्रमुख गुरुङले किसानलाई आत्मनिर्भर बनाउन कफी, खुर्सानीसँगै कागती उत्पादनलाई प्राथमिकता दिइएको बताए। उनले व्यावसायिक उत्पादनमा लाग्न किसानलाई आग्रह गरे ।

उपप्रमुख दाहालले कागती खेती लामो समयसम्म उपज दिने, वन्यजन्तुबाट कम क्षति हुने र तुलनात्मक रूपमा लाभदायक हुने भएकाले बिरुवा अनुदानमा वितरण गरिएको जानकारी दिए ।

नगरपालिकाको सार्वजनिक सूचना र प्राप्त निवेदनका आधारमा हालसम्म ६ हजार कागतीको बिरुवा वितरण गरिनेछ। आर्थिक विकास शाखाका (कृषि) प्राविधिक सुन्दर श्रेष्ठका अनुसार कृषि फर्म, समूह तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो।

नगरपालिकाले प्रति बिरुवा रु ३० मा खरिद गरेको सुन कागती किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइरहेको छ। वितरण कार्यक्रम शुक्रबारदेखि सुरु भई पायक पर्ने स्थानसम्म ढुवानी गरी वितरण भइरहेको छ।

यसै क्रममा संकलित मागका आधारमा एभोकार्डोको बिरुवा पनि यही असार १० पछाडि वितरण गर्ने तयारी गरिएको कृषि शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्