मकवानपुरका नदीहरूमा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

मकवानपुर, असार ६ । हेटौँडा वर्षामापन केन्द्र र वरपरको क्षेत्रमा विगत ३ घण्टामा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारी वर्षाको कारण कर्रा, सम्री, पूर्वी राप्ती नदीसहित साना खोलाहरूमा आकस्मिक बाढी आउने खतरा देखिएको छ । विभागले नदी आसपासका तटीय क्षेत्र तथा डुवान भइरहने होचो भू–भागमा बसोबास गर्ने स्थानीयहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
राती ९:२० बजे जारी गरिएको एसएमएस सूचना अनुसार, बाढीको जोखिम बढेकाले सुरक्षित स्थानमा सर्न र सतर्क रहनु अत्यावश्यक भएको विभागले जनाएको छ ।
बाढी र डुवानबाट बच्न समुदायस्तरमा पूर्वतयारी तथा जोखिम न्यूनीकरणका उपाय अपनाउन विज्ञहरूले समेत सुझाव दिएका छन्।