देशभर मनसुन सक्रिय, फैलियो सम्पूर्ण भूभागमा

काठमाडौं,असार ७ । यस वर्षको मौसमी मनसुन प्रणाली शुक्रबारबाट देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै २३ दिनपछि मनसुन सम्पूर्ण भूभागमा फैलिएको जनाएको हो।
जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन क्रमशः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विस्तार हुँदै गएको थियो। हिजोबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत फैलिएपछि मनसुन देशव्यापी भएको हो।
मौसमविद् प्रतिमा मानन्धरका अनुसार, कोशी, मधेस, बागमती र गण्डकीका केही भागमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने पश्चिम नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। भारतको पश्चिम बंगाल क्षेत्रको न्यून चापीय प्रणालीले पनि प्रभाव पारेको महाशाखाले जनाएको छ।
अब आगामी दिनमा देशभर मनसुन सक्रिय रहने तथा वर्षा क्रमशः बढ्दै जाने पूर्वानुमान गरिएको छ।