किस्पाङमा विपन्न विद्यार्थी र महिलालाई सहयोग

नुवाकोट, असार ७ । किस्पाङ गाउँपालिका–३ मा विपन्न तथा जेहेन्दार विद्यार्थी र महिलाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ। स्थानीय पञ्चलिङ्गे माविमा आयोजित कार्यक्रममा २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ भने १२ जना एकल तथा बयोवृद्ध महिलालाई बाख्रा वितरणसहित नगद सहयोग र दोसल्ला ओढाएर सम्मान गरिएको हो।
कार्यक्रममा किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले सहभागी महिलाहरुलाई दोसल्ला ओढाई नगद प्रदान गर्दै सम्मान गरेका थिए । उनले ज्येष्ठ नागरिकहरू समाजका पथप्रदर्शक भएकाले सधैं सम्मान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रम नेपालका असल मित्रहरू संस्थाको सहकार्यमा सम्पन्न भएको हो। संस्थाले विगत १० वर्षदेखि नुवाकोटका विभिन्न पालिकाहरू—विदुर, किस्पाङ, म्यागड, दुप्चेश्वर र तारकेश्वरमा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ।
संस्थाका निर्देशक डा. भीमलाल तामाङका अनुसार हालसम्म पाँच हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिका रूपमा सहयोग गरिसकिएको छ। साथै, महिलाहरूलाई आयआर्जनमूलक सीप र बाख्रासमेत वितरण गर्दै आइएको छ।