विदुर–१ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

नुवाकोट, असार ७ । विदुर नगरपालिका वडा नम्बर १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ। शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममार्फत वडाध्यक्ष लेनिन रन्जितले वडालाई शिक्षा सुलभ बनाउने उद्देश्यका साथ ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा’ घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रन्जितले अबदेखि वडाभित्रका सबै बालबालिकाले विद्यालय शिक्षा प्राप्त गर्ने सुनिश्चित गरिने प्रतिबद्धता जनाए। “शिक्षा नै समृद्धिको आधार हो, अब कुनै पनि बालबालिका विद्यालय बाहिर रहनु हुँदैन,” उनले भने।
यो घोषणासँगै वडामा बालबालिकाको शैक्षिक पहुँच वृद्धि गर्ने, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी भर्ना गराउने, र अभिभावकलाई शिक्षाको महत्वबारे सचेत गराउने कामलाई तीव्रता दिइने जनाइएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक, समुदायका अगुवा लगायतको उपस्थिति रहेको थियो।