प्रधानमन्त्री ओलीद्वारा योगलाई जीवनशैलीमा जोड्न आग्रह

ललितपुर, असार ७ — प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएको बताउँदै यसलाई दिनचर्यामा समावेश गर्न सबैलाई आग्रह गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित ११औँ विश्व योग दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले योगले अनुशासन, शान्ति र स्वास्थ्यमार्फत समाजलाई समुन्नत बनाउने बताए।
उनले भने, “निरोगी नेपाल निर्माण हाम्रो लक्ष्य हो। योग, खानपान र आरामको सन्तुलनले मात्र स्वस्थ जीवन सम्भव हुन्छ।” प्रधानमन्त्री ओलीले योगलाई ध्यान, अनुशासन र पवित्रताको अभ्यासका रूपमा परिभाषित गर्दै जीवनका मूल्य जस्तै सत्य, अहिंसा र आत्मसंयममा आधारित रहेको उल्लेख गरे।
कार्यक्रममा शिक्षा मन्त्री रघुजी पन्तले योग पूर्वीय ज्ञान र सांस्कृतिक सम्पदा भएको बताउँदै यसको विकासमा जोड दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले योग नेपालको मौलिक सम्पदा भएको र यसको प्रचार–प्रसारमा सरकारले सक्रिय भूमिका खेल्ने बताए।
योगगुरु डा. दीपक रेग्मीले योग विज्ञानले प्रमाणित अभ्यास भएको बताउँदै आत्मशान्ति र स्वास्थ्यका लागि अनिवार्य भएको धारणा व्यक्त गरे।
कार्यक्रममा विभिन्न योग संस्था, विश्वविद्यालय, विद्यार्थी, योगगुरु तथा उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो। विश्व योग दिवस प्रत्येक वर्ष जुन २१ मा मनाइन्छ भने नेपालमा राष्ट्रिय योग दिवस माघ १ गते मनाइन्छ।