तुप्चेमा रवि बोगटीको स्मृतिमा रक्तदान, २४ जनाको सहभागिता

नुवाकोट, असार ७ । माओवादी जनयुद्धका क्रममा शहीद भएका रवि बोगटीको २३औं स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा २४ जनाले रगत दान गरेका छन्।
न्यू तुप्चे युवा क्लबको आयोजनामा क्लब भवन परिसरमा भएको कार्यक्रममा ३ महिला र २१ पुरुषले रक्तदान गरेका हुन्। कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितलगायतको सहभागिता थियो।
बोगटी २०५९ असार ७ गते धादिङको सत्यदेवी गाविसमा सेनाको गोली लागी निधन भएका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको रक्त सञ्चार सेवा केन्द्रले प्राविधिक सहयोग गरेको थियो।