विदुर मेयर कप क्रिकेट प्रतियोगितामा वडा नम्बर ३ विजेता

विदुर, असार ७ – विदुर नगरपालिकाको आयोजनामा सम्पन्न ‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ वडा नं. ३ ले जितेको छ। नगर भित्रका ११ वटा वडाको सहभागिता रहेको प्रतियोगितामा फाइनल खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई पराजित गर्दै उपाधि हात पारेको हो।
विजेता टोलीलाई नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता बनेको वडा नं. ४ लाई नगद रु २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
पुरस्कार वितरण तथा फाइनल खेलको अवलोकन कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. ३ का अध्यक्ष बद्री रिमाल, वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, वडा नं. १० का अध्यक्ष गणेशकुमार नेपाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक, विदुर नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, तथा भूमि समस्या समाधान आयोग नुवाकोटका सदस्य माधव रिजाललगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको प्राविधिक पक्ष जिल्ला क्रिकेट संघ नुवाकोटले सम्हालेको थियो। प्रतियोगिताले नगरका युवाहरूमा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।