बागमती प्रदेशको बजेट : लगानीमैत्री नीति, उद्योग र कर छुटको व्यवस्था

मकवानपुर, असार ८ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न छुट र सहुलियतको व्यवस्था गरेको छ।
उद्योग स्थापनालाई प्रोत्साहन गर्न जग्गा खरिद गर्दा रजिस्ट्रेसन शुल्कमा ५०% छुटको व्यवस्था गरिएको छ। यो छुट तीन सयभन्दा बढी रोजगार सिर्जना गर्ने उत्पादनमूलक उद्योग, जलविद्युत्, कृषि र पशुपालनसम्बन्धी उद्योगमा लागू हुनेछ।
सूर्ती, गुड्खा, पानपराग र मदिराजन्य उद्योग बाहेक अन्य स्वदेशी लगानीका उद्योगका लागि पनि यस्तै छुट उपलब्ध हुनेछ।
साथै, महिला, अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसंख्यक वा लोपोन्मुख समुदायले प्राइभेट फर्म दर्ता गर्दा ७५% दस्तुर छुट पाउनेछन्।
सवारी साधन करमा पनि विशेष छुट दिइएको छ। तीन वर्षको कर बुझाएमा अघिल्ला वर्षको कर र जरिवाना माफ हुनेछ भने २० वर्ष पुराना सवारी हटाउने उद्देश्यले बाँकी कर बुझाउँदा जरिवानामा पूर्ण छुट दिइनेछ।
बजेटमार्फत आन्तरिक आय वृद्धि, कर प्रशासन सुदृढीकरण, मनोरञ्जन करको दायरा विस्तार र राजस्वको दायरा बढाउने नीति समेत समावेश गरिएको छ।