विद्युत प्रसारणमा निजी लगानी अपरिहार्य – प्रबन्ध निर्देशक शाक्य

काठमाडौं, असार ८– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको लगानी बढाउनु अपरिहार्य रहेको बताएका छन् । विद्युत उत्पादनमा वृद्धिसँगै प्रसारण पूर्वाधार निर्माण नहुँदा दुर्घटनाको जोखिम बढ्न सक्ने उनको भनाइ छ ।
शनिबार पत्रकारहरूसँगको छलफलमा उनले सरकारले प्राधिकरणलाई दिने अनुदान घट्दै गएको उल्लेख गर्दै अब निजी क्षेत्रको लगानीबिना आवश्यक पूर्वाधार निर्माण असम्भव हुने स्पष्ट गरे । अरुण थर्ड आयोजना चिलिमे मोडलमा आफैं निर्माण गर्ने योजना रहेको र क्रस बोर्डर लाइनको काम पनि अघि बढेको जानकारी उनले दिए ।
प्रवक्ता राजन ढकालले स्रोत सुनिश्चिततासहित उपभोक्ता केन्द्रित कार्यक्रम आवश्यक रहेको बताउँदै प्राधिकरणमा हाल ५६ लाख उपभोक्ता रहेको र ४४ अर्ब बक्यौता उठ्न बाँकी रहेको जानकारी दिए ।