नुवाकोटको साततले दरबारको पुनर्निर्माण कार्य सुरु, छानाबाट भत्काउन थालियो

नुवाकोट, असार ८ । दश वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पुर्याएको नुवाकोटको ऐतिहासिक साततले दरबार (दुर्गरत्न दरबार) पुनर्निर्माणको लागि भत्काउने काम सुरु गरिएको छ।
चिनियाँ कम्पनी चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज मार्फत पुनर्निर्माण कार्य अघि बढाइएको हो। दरबार पुनर्निर्माणअघि आवश्यक पूर्वतयारीका प्राविधिक कामहरु सम्पन्न भएसँगै आजदेखि दरबारको छानाबाट भत्काउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।
भत्काउने कार्य अघि दरबारको क्षतिग्रस्त संरचना र अवस्थाबारे सरोकारवालाहरुलाई जानकारी गराइएको थियो। सो अवसरमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङ, विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, डिभिजन वन कार्यालयकी डिभिजनल वन अधिकृत रोशना पोखरेल लगायतको उपस्थिति रहेको थियो।
दरबारको ऐतिहासिक र सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै यथासम्भव मौलिक स्वरूप जोगाएर पुनर्निर्माण गरिने जनाइएको छ।